सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन , बागमती प्रदेश शाखा द्वारा माओवादी आन्दोलनको प्रमुख घटक नेकपा ( माओवादी केन्द्र ) बागमती प्रदेश समिति समक्ष निम्न विषयमा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझायो।
कमरेड अध्यक्ष,
नेकपा (माओवादी केन्द्र),
बागमती प्रदेश समिति ।
विषय: ज्ञापन पत्र ।
नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रूपान्तरण गर्ने महान अभियान स्वरूप नेपाली भूमिमा दश वर्षको लामो जनसङ्घर्ष चल्यो र त्यस क्रममा थुप्रै सपूतहरूले ज्यान गुमाउनु पर्यो । उहाँहरूको बलिदान पुर्ण सङ्घर्ष, त्याग र समर्पणकै कारण आज नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ र नेपाली जनताका हक अधिकारहरू सवैधानिक रूपमा स्थापित भएको छ ।
महान् सहिदहरूको सम्मान गर्दै भविष्यको पुस्ताले आफ्नो गौरवमय विगतको स्मरण गर्न सकुन भन्ने उदेश्यले नेपालमा भएको महान जनयुद्ध र जनआन्दोलनका क्रममा देश र जनताको पक्षमा बलिदान गर्नुहुने आदरणीय सहिदहरुको गौरवमय स्मृतिलाई चिरकाल पर्यन्त दिगो तथा संस्थागत बनाइनुपर्ने आवश्यकता बोध गर्दै जनयुद्ध र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका महान सहिदहरुका सन्ततिको सक्रियतामा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको स्थापना भएको छ । यसै सन्दर्भमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन, बागमती प्रदेश शाखा माओवादी आन्दोलनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समिति समक्ष निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ :
१. नेपालको संविधान र आवधिक शैक्षिक योजना तथा शिक्षासम्बन्धी अन्य योजना तथा कार्यक्रमले गरेका नीतिगत व्यवस्थाका आधारमा आधारभूत तह (कक्षा १-५) को पाठ्यक्रम (वि.सं. २०६२ र २०६५) ले सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षामा २०% पाठ्यभार स्थानीय विषयवस्तुमा आधारित हुनुपर्ने प्रावधान राखेको छ । यसले स्थानीय आवश्यकतामा आधारित शिक्षालाई थप एक विषयका रूपमा समावेश गर्दै स्थानीय विषयसमेत समावेश गर्न सकिने व्यवस्था गरेको छ । आधारभूत शिक्षा पाठ्यक्रम कक्षा ६ देखि ८ ) २०६९ मा पनि स्थानीय विषयवस्तुको प्रावधान रहेको छ । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन (मातृभाषासहित) २०७६ विकास गरी स्थानीय पाठ्यक्रम निर्माणलाई सहजीकरण गर्ने प्रयास गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । विद्यालय स्तरको पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर शिक्षालाई अझ जीवनसँग जोड्ने बृहत् प्रयोजन र स्थानीय तहलाई स्थानीय शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायमा आधारित त्यो प्रावधान उपयोगी र दीर्घकालीन महत्वको हो । सिंहदरबारभित्र कैद अधिकार जनतासम्म पु-याउने सविधानको भावनामा उभिएको यो प्रावधानले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको / बसेको परिवेशबारे जानकारीमात्र दिने गर्दैन, बरु स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्नेछ । यसर्थ नेपाली भुमिमा भएको सबैभन्दा ठुलो न्यायपूर्ण आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरुका जीवनी र लेख तथा मोर्चाहरुलाई माओवादीले विजय हासिल गरेका स्थानीय तहहरुका पाठ्यक्रममा समावेश गर्नका लागि विशेष परिपत्र गरियोस।
२. हाल बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको हुँदा सहिद तथा बेपत्ताको यकिन लगत संकलनका लागि प्रदेश स्तरिय कार्यदल गठन गरियोस। सहिद तथा बेपत्ता योद्धाहरुको स्मरणमा पालिका स्तरिय पार्कहरुको निर्माण, सडक / विद्यालयहरुको नामकरण, पुस्तकालयको स्थापनाका लागि विशेष पहल गरियोस ।
३. बागमती प्रदेश सरकारको २०७६ साउन ३ गते प्रदेश राजपत्रमा प्रकाशित विभूषण सिफारिस तथा सम्मान तथा पदक सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐन २०७६ बमोजिम प्रदेशभित्रका जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई प्रदेश स्तरमा विभूषित गरियोस र संघिय सरकार समक्ष सिफारिस गरियोस । साथै बागमती प्रदेशभित्रका सहिद तथा बेपत्ता योद्धाको नाम प्रदेश राजपत्रमा प्रकाशन गरियोस ।
४. सहिद तथा बेपत्ता योद्धाका परिवार र सन्ततिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका मुद्धालाई सम्बोधन गर्नका लागि प्रदेश स्तरिय सहिद तथा बेपत्ता प्रतिष्ठान गठन गरियोस ।
५. सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको बागमती प्रदेशका १३ जिल्लामा जिल्ला शाखा गठनका लागि पार्टीको तर्फबाट आवश्यक सहजीकरण गरियोस ।
क्रान्तिकारी अभिवादन सहित !
सुदिप तामाङ्ग
अध्यक्ष
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन
बागमती प्रदेश शाखा

